दुलाल समाज नेपाल परिचय
दैलेखका ३२ स्थानबाट ३२ थर उत्पत्ति भएको मानिन्छ । दैलेखको दुल्लुबाट दुलाल थरको उत्पत्ति भएको विभिन्न वंशावलीमा उल्लेख भएको पाइन्छ ।दुलालको उद्गम स्थान दुल्लु भएकोमा दुई मत छैन । आत्रेय गोत्र भएका दुलाल दुल्लुबाट देशका विभिन्न ठाउँमा पुगेको पाइन्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै दुलालको बसोबास रहेको पाइन्छ । मानव समाजको विकास क्रमलाई हेर्ने हो भने एउटै पुर्ख्यौली रक्तखलकका मानिसको एक झुन्ड थियो । तर आदिम सभ्यताको समाज यात्रा गर्ने क्रममा सयौँ जाति, हजारौँ उपजातिमा विभक्त र विकसित भएर फैलिएको आजको आधुनिक समाज नै आदिम समाजको एक चिनारी हो । त्यसैले गोत्रको त्यो शैशवकालीन अवस्था, परिभाषा र बुझाइ आज जस्ताको जस्तै छैन । मानव समाजमा गोत्र जसरी सुरुआत भए पनि र तिनले समाज विकासमा जस्तो भूमिका खेलेका भए पनि आज तिनको रूप र अवस्था त्यही रूपमा छैन । नेपालमा रहेका सबै जाति समुदायको गोत्र परम्पराको अवस्था, अवशेष र रूप कुन अवस्थामा छ भनी गम्भीर अध्ययन जरुरी छ र मूलतः हुन बाँकी छ । संसारका मानव एक समान हुन कसैले कसैलाई भेदभाव, छुवाछुत, उचनिच गर्न र गराउन पाइने छैन ।
यदि कसैले यस्तो भेदभाव गरेमा कानुनको दण्डित या भागिदार हुने भनिएको छ । गोत्र वा थर बढीमा मागी विवाहमा अर्थपूर्ण छ । वंशावली नहुँदा एउटै गोत्रका व्यक्तिबीच पनि विवाह हुने गरेको छ । रीतिथिति, परम्परालाई आत्मसात् गर्दै हामीले दुलाल बन्धुहरूको एउटा सानो समूहलाई मात्रै समावेश गर्न सकेका छौ । दैलेखको दुल्लुबाट कहिले छुट्टिएका हौँ? पहिलो व्यक्ति को हुनुहुन्थ्यो? कुन राजाले दुलाललाई बिर्ता दिएका हुन्? दुलाल उपाधि थर लिने व्यक्ति को थिए? यसको अवश्य नै खोजविन हुने छ । किनकि यो हामीले दुर्गादास बन्धुहरूबाट वंशावलीलाई डिजिटलाइजेशन गर्ने पहिलो प्रयास गरेका छौ । दुलाल अहिले नेपालमा मात्रै नभएर भारत, भुटान, म्यान्मा (वर्मा) सम्म पुगेका छन् । जनसङ्ख्या पातलो भए पनि दुलाल सबैतिर छरिएका छन् । सबै थरीका मानिससँग घुलमिल भएर बस्न सकेका छन् । वंशावलीको यो अनलाइन पुस्तिकाले सबै दुलालाई समेट्न सजिलो हुनेछ। यो किताब मूल आधार हुनेछ। यसबाट थप खोजी गर्न सजिलो हुनेछ भन्ने हामी दुर्गादास दुलाल बन्धु समाजले लिएका छौँ ।